शाश्वतधाम एक झलक : महाशिवरात्री तथा वार्षिकोत्सव विशेष


शाश्वतधाम एक झलक :  महाशिवरात्री तथा वार्षिकोत्सव विशेष

हरेक वर्ष महाशिवरात्रीको दिनमा पर्ने धार्मिक तथा पर्यटकीय गन्तव्य शाश्वतधाममको वार्षिकोत्सव सदाझै शिवरात्री विशेष पूजा लगायत अन्य विशेष कार्यक्रमहरु आयोजना गरेर भव्यताकासाथ मनाइयो ।

सामान्यतया बिहान ९ बजेबाट चहलपहल सुरु हुने शाश्वतधाम परिसरमा उक्त दिन भने बिहान झिसमिसेबाटै श्री एकाम्बरेश्वर महादेवको दर्शनका लागि भक्तजनहरुको घुईचो लागेको थियो ।

पूजाको लागि २४ घण्टा मन्दिर खुला रहने भनिएको मन्दिरमा नित्य पूजा बिहान ६ बजेबाटै प्रारम्भ गरिएको थियो तथा वार्षिकोत्सवको औपचारिक कार्यक्रम पनि बिहान ९ बजेबाट सुरु गरिएको थियो । बिहान ९ बजे शाश्वतधाम परिसरमा ॐ अंिकत १२ वटा झण्डाको झण्डोत्तलनबाट सुरु गरिएको औपचारिक कार्यक्रम राति ११ बजे आकाशदिप प्रज्वलन गर्दै समापन गरिएको थियो । महाशिवरात्री विशेष पूजा भने बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म निरन्तर चलेको थियो ।
उक्त अवसरमा सम्पन्न पूजा तथा कार्यक्रमहरुलाई हामीले निम्नानुसार समेट्ने प्रयत्न गरेका छौं ।
ॐ अंकित १२ झण्डाको झण्डोत्तलनः

शाश्वतधामलाई सनातन हिन्दु धर्म तथा समस्त ॐ कार परिवारलाई समेट्ने धार्मिक तथा आध्यात्मिक केन्द्रको रुपमा स्थापित गर्ने हेतुले यहाँ अवस्थित पुराना १२ ओटा झण्डालाई प्रतिस्थापन गर्दै नयाँ ॐ अंकित झण्डाको झण्डोत्तलन गरियोे । बिहान ९ बजे सुरु भएको सो कार्यक्रममा देवचुली नगरपालिकाका प्रमूख पूर्णकुमार श्रेष्ठ, उपप्रमुख पार्वता तिवारी, पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्मा, पत्रकार महासंघका नवलपुर जिल्ला अध्यक्ष होमराज रानाभाट, समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता करुणासागर सुवेदी, लगायतका  स्थानियहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


कार्यक्रम पञ्चेबाजाको ध्वनी संगै अतिथीहरुलाई मन्दिर प्रदक्षिणा गराएर सुरु गरिएको थियो भने, स्वस्ती वाचन तथा शंखनादका साथ अतिथीहरुको हातबाट झण्डोत्तलन गराएर समापन गरियो ।
१०८ शिवलिंगको पूजा


बिहान १० बजेबाट शाश्वतधाम परिसरको इशानकोणमा रहेका १०८ शिवलिंगको अभिशेक तथा विशेष पूजा सुरु गरियो र दिनभर विशिष्ट अतिथीदेखि भक्तजनहरुको उल्लेख्य सहभागितामा उक्त पूजा चलिरह्यो ।

करिब दश हजार दर्शनार्थीहरु उक्त पूजामा सहभागी हुने प्रारम्भिक अनुमान गरियको भएतापनि बेलुका सम्म उक्त संख्या अझै बढेको पाइयो । शाश्वतधामले यसरी १०८ शिवलिंगको स्थापना गरेर पूजा गर्ने वातावरण मिलाएकोमा भक्तजनहरु निकै खुशि देखिएका थिए ।
नवग्रह स्थापना तथा प्राण प्रतिष्ठा

दोस्रो वार्षिकोत्सव तथा महाशिवरात्री अवसरमा शाश्वतधाममा नवग्रहको पनि स्थापना गरियो । वैदिक ज्योतिषशास्त्र अनुसार मानिसको जीवनमा आइपर्ने विभिन्न खालका ग्रहदोश निवारण गर्न नवग्रहको पूजा आवश्यक पर्ने भएकाले, उक्त कार्यको सहजीकरणको लागि नवग्रह स्थापना गरिएको जानकारी शाश्वतधाम परिवारले दिएको छ ।

नवग्रहको प्राण प्रतिष्ठान दिऊँसो १२ बजेदेखि सुरु गरिएको थियो ।
बुढानिलकण्ठ स्थापना तथा प्राण प्रतिष्ठा

विष्णु तथा शिवको संयुक्त स्वरुप मानिने बुढानिलकण्ठ (जसलाई हरिहर पनि भनिन्छ) को मूर्ति पनि यसै अवसर पारेर शाश्वतधाममा स्थापना तथा प्राण प्रतिष्ठान गरिएको छ । चारैतिरबाट पानिका फोहोराले निरन्तर स्पर्श गर्ने यस हरिहरको मूर्ति साच्चै सुन्दर र कलात्मक छ । मूर्तिलाई कालिगण्डकीबाट ल्याइएका शालिग्राममाथि स्थापना गरिएको छ ।

वार्षिकोत्सव पूजा

बिहान करिब ११ बजेबाट श्री एकाम्बरेश्वर मन्दिरभित्र वार्षिकोत्सव पूजा सुरु गरियो जस अन्तर्गत ११ रुद्रि पाठ, महान्यास पूजा, आदि सम्पन्न भयो । त्यसपछि करिब १ घण्टा श्रृंगारको लागि मन्दिरको पर्दा बन्द गरियो ।

यस समय मन्दिरभित्रका सम्पूर्ण देवी देवताका मूर्तिहरुलाई नयाँ वस्त्र पहिन्याएर साज सज्जा गरियो । त्यसलगतै हवनको कार्यक्रम तथा शिवरात्रीको धुनी जलाउने कार्यक्रम शाश्वतधामका संस्थापक अध्यक्ष श्री बिनोद चौधरी र उहाँको परिवार तथा श्रद्धालु भक्तजनहरुको उल्लेख्य सहभागितामा सम्पन्न भयो ।

यसै अवसरमा शाश्वतधाममा झक्तजनहरुको सुविधाको लागि १०८ दिप प्रज्वलन केन्द्रको पनि स्थापना गरियो ।
गंगा आरती तथा भजनसन्ध्या


साझ करिब ७ बजेबाट गंगा आरती र त्यसपछि भजन सन्ध्याको कार्यक्रम आयोजना गरियोे । गंगा आरतीमा शाश्वतधाम परिसरमा अवस्थित वैदिक गुरुकुलका बटुकहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा प्रमूख अतिथि आर्ट अफ लिभिंग नेपाल एपेक्सका अध्यक्ष एस. के सिंह रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथी शाश्वतधामका संस्थापक अध्यक्ष श्री बिनोद चौधरी, नेपाली कांगे्रसका नेतृ श्रीमती आरजु देउवा लगायत विशिष्ट व्यक्तित्व तथा स्थानीय बासिन्दाको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा भजन सन्ध्याले भक्तजनहरुलाई भरपूर आनन्द दिलाएको थियो । मूख्य शिवरात्रीको पूजा बेलुका ६ बजेदेखि सुरु भई दोश्रो दिन बिहान ५ बजेसम्म चलेको थियो भने भजन सन्ध्या पनि राती ११ बजे सम्म चलेको थियो ।


आकाशदिप प्रज्वलन


महाशिवरात्रीको अन्तिम कार्यक्रमको रुपमा रहेको थियो आकाशदिप प्रज्वलन, जसलाइ सम्पूर्ण भक्तजनहरुले रोचकताका साथ अवलोकन गरेका थिए । सो कार्यक्रममा उद्योगपती तथा चौधरी फाउन्डेशनका अध्यक्ष श्री बिनोद चौधरी तथा अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । भजनसन्ध्यापछि करिब ११ बजे सुरु भएको सो कार्यक्रम पनि करिब १ घण्टा चल्यो । सो अवधिभर शाश्वतधामको आकाश रंगिबिरंगी दिपहरुले प्रज्वलीत भएको दृश्य अत्यन्तै मनमोहक देखिएको थियो ।

+ There are no comments

Add yours