शाश्वतधाममा एक साँझ


शाश्वतधाममा एक साँझ

नेपालमा नयाँ–नयाँ पर्यटकीय गन्तव्य बढ्दै छन् । अझ मुलुक संघीयतामा गएपछि प्रत्येक प्रदेशले आफ्नो प्रदेशमा पर्यटकीय गन्तव्य विकासका योजना बनाउन थालिसकेका छन् । पर्यटकीय गन्तव्य पहिचान तथा निर्माणको काममा सरकारको मात्र नभई निजी क्षेत्रको पनि उत्तिकै योगदान रहन्छ ।

यस्तै गन्तव्यमध्ये एक हो, नवलपरासीस्थित शाश्वतधाम । पूर्व–पश्चिम राजमार्ग भई यात्रामा निस्कने यात्रुले केही समय सवारी रोकी सेल्फी लिन अनि शाश्वतधाममा विराजमान एकम्बरेश्वर महादेवको दर्शन गर्ने स्थान बनेको छ यो स्थान ।
तर, शाश्वतधाम केवल सेल्फी प्वाइन्ट मात्र होइन रहेछ भन्ने निष्कर्षमा म पुगेँ जब मैले त्यहाँ एक साँझ गुजार्ने मौका पाएँ । शाश्वतधाम हतारमा पुगेर झलक्क दृश्यमा जे देखियो, त्यति मात्र होइन । यसको निर्माण पनि सायद केवल सोही उद्देश्यका लागि होइन । यहाँ संग्रहालयदेखि अनेक संरचना बनाइएका छन् । जसले केवल पर्यटकीय महत्व मात्र नभई धार्मिक महत्वसमेत उत्तिकै बोकेको आभास मैले पाएँ ।
कलात्मक समुद्र मन्थनको चित्र
परिसरको पूर्वपट्टि अमृत निकाल्न समुद्र मन्थन गरिएको मूर्ति देख्न सकिन्छ । जसमा एकापट्टि राक्षस र अर्कोपट्टि देवताले अमृत निकाल्न विन्ध्याचल पर्वतलाई मदानी र शेषनागलाई नेती बनाएर समुद्र मन्थन गरिएको कथन छ । वास्तवमै सधैँ सुनिएको र चर्चा गरिएकोभन्दा गहन र फरक जानकारी लिन शाश्वतधाममा केही समय बिताउनैपर्छ ।
धार्मिक संग्रहालय
एकाम्बरेश्वर महादेव स्थापना गरिएको मुख्य मन्दिरको मुनिपट्टि धार्मिक संग्रहालय छ । उक्त संग्रहालयमा विभिन्न धार्मिक विषयमा टेलिभिजनमा निरन्तर प्रवचन आइरहेको हुन्छ । त्यहाँ धर्म मात्र नभई विभिन्न कालखण्डमा राजाहरूले जारी गरेका मुद्रा पनि राखिएको छ । स्वस्थानी ब्रतकथामा उल्लेख सतीदेवीको अंग पतन भएका ५१ वटै ठाउँको माटो पनि त्यहाँ राखिएको छ ।
त्यस्तै, ती ठाउँ कुन–कुन हुन् भन्ने नक्सा पनि राखिएको छ । सबै ठाउँको परिचय दिन एक–एक मिनेटको भिडियो पनि प्रदर्शन गरिन्छ । त्यहाँ कम्बोडियामा रहेको विश्वकै सबैभन्दा ठूलो हिन्दू मन्दिरको फोटो पनि राखिएको छ । संग्रहालयमा हिन्दूधर्मका २५ प्रतीक राखिएको छ । हिन्दूधर्मका त्रिशूल, खराउ, टीका, कछुवा, स्तुप, केशर, उल्लु, मुसा, सरस्वती, गणेश, झन्डा, सुँगा, कामधेनु, मोदक, कमल, अग्निवेदिका, ओम, स्वस्तिक, मण्डला, कलशलगायत २५ प्रतीक छन् ।
पैतालाको चिह्न भएको ३५ किलोको शालिग्रामदेखि अति सूक्ष्म शालिग्राम यहाँको विशेषता हो । एकमुखेदेखि २७ मुखेसम्मको रुद्राक्ष यहाँ देख्न सकिन्छ । तीन धामका १२ ज्योतिर्लिंगबारे पनि जानकारी राखिएको छ । हिमाली चारधामबारे पनि पर्याप्त जानकारी छ । यहाँ पाँचजन्य, ऐरावत, गणेश, अनन्त विजय, गौरीलगायत विभिन्न प्रकारका शंख पनि राखिएको छ । ग्रहअनुसारका फलदायी पत्थर पनि प्रदर्शनीमा छन् ।
दश ढोका


मुख्य ढोकाबाट भित्र पस्नासाथ १० ढोकायुक्त चौतारोमा पुगिन्छ । मानिसको शरीरमा भएका नौ द्वार र तेस्रो आँखालाई १०औँ द्वार मानिएको बताइन्छ । प्रवेशद्वारलाई लोकको द्वार भनिन्छ । दायाँतर्फको ढोकाअगाडि महाभारतमा व्याख्या भएअनुसार कृष्णले चलाएको रथमा अर्जुन विराजमान छन् । त्यहाँसम्म पुग्ने द्वारलाई धर्मद्वार भनिन्छ । बायाँतर्फ ढोकाबाट ढुंगेधारा भएको स्थानमा पुगिन्छ । यसलाई सामाजिक परम्परा र पुन्यको द्वार मानिएको छ । त्यहाँबाट सीधा अघि बढ्दा मन्दिरमा पुगिने भएकाले यसलाई देवताको द्वार मानिएको छ । हरेक कर्मको छुट्टै महŒव रहेको कुरो दर्शाउन यस्ता द्वार निर्माण गरिएको हो ।
बुद्ध सूचना केन्द्र


शाश्वतधाम परिसरमा बुद्धधर्मबारे जानकारी दिन सूचना केन्द्र राखिएको छ । केन्द्रमा कुन वंशको शासन कुन वर्षदेखि कुन वर्षसम्म चल्यो भन्ने जानकारी पनि छ । त्यस्तै, नेपालमा बुद्ध र बोधिसत्वबारे जानकारीसमेत उक्त केन्द्रबाट प्राप्त हुन्छ । नेपाल आफैँमा धार्मिक सहिष्णुता भएको मुलुक हो । यसको झल्को शाश्वतधाम भ्रमणबाट पनि देखिने चौधरी उद्योग ग्रामका सिएसआर विभाग प्रमुख रामचन्द्र धिताल बताउँछन् ।
यहाँ बौद्ध धर्मावलम्बीले मान्ने चाडपर्वबारे पनि विस्तृत जानकारी दिइएको छ । त्यस्तै, पञ्चबुद्धबारे पनि जानकारी दिइएको छ । जसमा बुद्धले पनि मान्ने भगवान्, बुद्धले पृथ्वीमा जन्म लिने निर्णय गरेको क्षण, घरमा सिद्धार्थ गौतमको जन्म नहुनाका कारण, बुद्धबारे ज्योतिषीले गरेको भविष्यवाणी, दरबारले सिद्धार्थ गौतम वैराग्यमा जाने डरले बाहिर घुमफिर गर्न लगाइएको प्रतिबन्धबारे जानकारी प्राप्त हुन्छ । बुद्धलाई वैराग्यको कारण, गृहत्याग, बुद्धत्व यात्रा, सुरुवाती चरणमा सहयात्रीले गरेको अविश्वासदेखि बुद्धत्व प्राप्ति, ज्ञान प्रदानदेखि महापरिनिर्वाणसम्मको इतिहास सविस्तार व्याख्या गरिएको छ । यसको व्याख्या चित्रकलामा पनि देख्न सकिन्छ । यहाँ विश्वका बौद्धस्थल, नेपालका मुख्य बौद्धस्थलसहित अन्य विषयमा पनि जानकारी राखिएको छ । शाश्वतधामबारे विस्तृत अध्ययन गर्न एक हप्ता पनि कम हुने धिताल जिकिर गर्छन् ।
गुरुकुल
अहिलेका बालबालिकालाई गुरुकुलबारे थाहा छैन । देभभित्र पनि सीमित स्थानमा मात्र गुरुकुल छन् । शाश्वतधामस्थित गुरुकुल पनि हिन्दूधर्मको एक महत्वपूर्ण केन्द्र हो । गुरुकुलमा आठ कक्षासम्म पढाइ हुन्छ । कान्ची कामाकोटी मठमा दीक्षित गुरुहरूले गुरुकुलमा शिक्षा दिन्छन् ।
१ हजार ८ शालिग्राम
धामपरिसरको उत्तरपूर्वी कुनामा १ हजार ८ वटा शालिग्राम राखिएको छ । पानीमा डुबाएर राखिएका यति धेरै शालिग्राम एकैपटक देख्नु पनि दुर्लभ क्षण हो । हिन्दू धार्मिक भावना भएका मानिसका लागि यो अझ बढी महत्वपूर्ण हुने नै भयो । राशि र नक्षत्रअनुसारका बिरुवा परिसरमा १२ राशि र २७ नक्षत्रमा मिल्ने रूख–बिरुवा रोपिएका छन् । मानिस जतिसुकै तनावमा भए पनि परिसर छिर्नासाथ मन शान्त हुने धार्मिक विश्वास छ ।
सोमबारे आरती
शाश्वतधाममा प्रत्येक सोमबार नियमितबाहेक विशेष आरती हुन्छ । बनारसको गंगा आरती, पशुपतिको आरतीकै शैलीमा गरिने यो आरतीले सोमबार साँझपख त्यस क्षेत्रमा पुग्ने यात्रुका लागि फरक अनुभूति दिन्छ ।      साभार : 

+ There are no comments

Add yours