शाश्वतधाममा पञ्चामृत वृक्ष


शाश्वतधाममा पञ्चामृत वृक्ष

आँप, चाँप, वर, पीपल र समी, सबैको हिन्दु परम्परामा विशेष महत्व रहेको छ । सबै किसिमका यज्ञका लागि उपयोगी र वैज्ञानिक दृष्टिकोणबाट पनि आ–आफ्नै विशेष महत्व बोकेका यि बहुउपयोगी वनस्पतीहरुको गुणलाई एउटै वृक्षबाट प्राप्त गर्ने प्रयोग नवलपरासी स्थित शाश्वतधाममा सुरु गरिएको छ । अहिले पाँचवटै वृक्षलाई अलग अलग रोपिएपनि, केहि समय पश्चात यिनिहरुलाई एउटै वृक्षमा रुपान्तरण गर्ने कार्य सुरु हुनेछ र उक्त वृक्षलाई पञ्चामृत वृक्ष भनिनेछ । प्रख्यात ज्योतिष डा. वासुदेव कृष्ण शास्त्रीको प्रत्यक्ष सल्लाह र रेखदेखमा गत साता शुरु गरिएको यो पञ्चामृत वृक्ष कालान्तरमा धर्म र विज्ञानको अदभुत मिश्रणको उदाहरणको रुपमा विकसित हुने, र सनातन धर्म तथा संस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्ने शाश्वतधामको मूल उद्धेश्य प्राप्तिको बाटोमा एउटा महत्वपूर्ण कोशेढुंगा साबित हुनेछ भन्ने शाश्वतधाम परिवारले विश्वास लिएको छ । यस्तो किसिमको पञ्चामृत वृक्षबाट पर्यावरण शुद्धिमा टेवा पुग्ने तथा यसको दर्शन गर्ने दर्शनार्थीहरुको आर्थिक समृद्धि तथा आध्यात्मिक उन्नती हुने वर्णन चरक सुश्रुत, वामन पुराण तथा मेदनीकोषमा उल्लेख भएको जानकारी डा. वासुदेव कृष्ण शास्त्रीले दिनुभयो ।

डा. शास्त्रीका अनुसार, चरक सुश्रुतसहित वैदिक र पौराणिक वाङमयमा आँप, चाँप, वर, पीपल र समीलाई वहुउपयोगी वनस्पतिका रुपमा वर्णन गरिएको छ र यिनलाई यज्ञमा प्रयोग गर्दा सुःख, शान्ति, समृद्धि र सुस्वास्थ हुने समेत वर्णन पाईन्छ । आँपलाई कफपित्त विनाशक; बल बुद्धि प्रदायक; सुस्वादु; हृदय, मासु, वीर्य धातु वर्धक वनस्पतीका रुपमा वर्णन गरिएको छ । त्यस्तै चाँपलाइ आयुवद्र्धक दत्तिउनका लागि उपयोगी; यज्ञमा प्रयोग हुन दण्ड; यज्ञ पात्र निर्माणको लागि काठको प्रयोग; लक्ष्मी पुष्प प्रीय; सुगन्ध युक्त; ओखल ढिकी बनाउन उपयोगी वनस्पतीको रुपमा वर्णन गरिएको छ । वरलाई भव्य, सुन्दर फलले युक्त; अत्यन्त शोभनीय वृक्ष; भीक्षा पात्र निर्माण; काष्ठ प्रयोग; यज्ञ वृक्ष; प्राणदायिनी ऊर्जा प्रदायक वनस्पतीको रुपमा चित्रण गरिएको पाईन्छ भने, पीपललाइ सर्वश्रेष्ठ वृक्षको संज्ञा दिंदै, एकपल्ट समिप गएर दर्शन गर्दा जीवन सार्थक हुने वनस्पतीको रुपमा वर्णन गरिएको छ । त्यस्तै समीलाई सबै किसिमको रोगकष्ट समन गर्न सक्ने वृक्षको रुपमा वर्णन गरिएको छ ।

+ There are no comments

Add yours